Rule 109
सशस्त्र प्रहरी कर्मचारीको बचाउ
: (१) सशस्त्र प्रहरी कर्मचारीले ऐन वा यस नियमावली वा अन्य प्रचलित कानून बमोजिम गर्नु पर्ने आफ्नो ओहोदाको कर्तव्य पालन सम्झी गरेको कुनै सरकारी कामको सम्बन्धमा निज उपर उपनियम (२) बमोजिमको रीत नपुर्‍याई मुद्दा चल्न सक्ने छैन ।
(२) उपनियम (१) बमोजिम कुनै पनि सशस्त्र प्रहरी कर्मचारी उपर मुद्दा चलाउनको लागि फौजदारी मुद्दाको हकमा अख्तियारवालाको अनुमति प्राप्त हुनु पर्नेछ र देवानी मुद्दाको हकमा देहाय बमोजिम भएको हुनु पर्नेछ :–
(क)   मुद्दा चलाउने कारण तथा वादी र निजको वारेस भएमा त्यस्तो वारेसको नाम र ठेगाना खोली लिखित सूचना अख्तियारवालालाई वा सम्बन्धित  सशस्त्र प्रहरी कर्मचारीलाई बुझाएको वा हुलाकद्वारा रजिष्ट्री गरी पठाएको र त्यसको एक प्रति नक्कल नेपाल सरकारमा पेश भएको दुई महिना नाघेको, र
(ख)   मुद्दा चलाउने कारण भएको तीन महिनाभित्र मुद्दा दायर गरिसकेको ।
      (३) कुनै सशस्त्र प्रहरी कर्मचारी बहाल छँदा आफ्नो ओहदाको कर्तव्य पालनको सिलसिलामा गरेको कामको सम्बन्धमा सेवाबाट हटि सकेपछि पनि नेपाल सरकारको स्वीकृति नभई निज उपर मुद्दा चल्न सक्ने छैन ।
(४) उपनियम (३) बमोजिम मुद्दा चलाउन नेपाल सरकारबाट स्वीकृति प्राप्त भएमा निजको प्रतिरक्षा नेपाल सरकारले गर्नेछ ।
(५) कुनै सशस्त्र प्रहरी कर्मचारी नेपाल प्रहरीद्वारा पक्राउ परेमा सोको जानकारी नजिकको सशस्त्र प्रहरी कार्यालयमा तुरुन्त दिई सोही कार्यालयमा बुझाई दिनु पर्नेछ ।